काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले वार्तामार्फत डा गोविन्द केसीले उठाएका मागका सम्बन्धमा निष्कर्षमा पुग्न सुझाब दिएको छ। पार्टीले मानवियताको ख्याल गर्न पनि सरकारलाई अनुरोध गरेको छ।
राजपा अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले डा केसीको मागहरुप्रति आ–आफ्नो दृष्टिकोण हुनसक्ने र सहमत वा असहमति राख्न सकिने भएता पनि मानवीय संवेदनशीलतालाई ख्याल गर्न आग्रह गरेको एक जना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।
‘हामीले पहिलेदेखि नै वार्ता हुनुपर्छ भन्दै आएका हौँ’, महतोले भने, ‘जायज मागहरु पूरा गर्नुपर्छ। डा केसीको जीवनरक्षा हुनुपर्छ।’ राजपा सदैव सत्याग्रहको पक्षमा रहेको महतोले बताए।
बैठकले डा केसीबारे सरकारले दिने गरेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ।
पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाउने निर्णय पनि अनुमोदन गरेको छ। त्यसैगरी महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने निर्णय पनि गरिएको नेता राजकिशोर यादवले बताए।
राजपाले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बुधबार (भोलि) पुनः अध्यक्ष मण्डलको बैठक बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।