काठमाडौं– नेपाली फिल्म बजारमा नयाँ आर्थिक वर्ष २०७५/७६ को सुरुवातसँगै बक्स–अफिस प्रणाली लागू हुने भएको छ।
विगत लामो समयदेखि बहसको विषय बनिरहेको बक्स–अफिस अन्तत: आजदेखि लागू हुने भएको हो। चलचित्र विकास बोर्डका अनुसार, बक्स–अफिस प्रणाली उपत्यकाका अधिकांश हलमा सञ्चालनमा आउनेछ।
बोर्डका बक्स–अफिस व्यापार विश्लेषकका रुपमा रहेका मनिष पण्डितका अनुसार, मंगलबारदेखि उपत्यकाका २० वटा हलमा बक्स–अफिस लागू हुनेछ।
बक्स अफिस लागू गर्न केही दिनदेखि बक्स–अफिस प्रणाली (सेन्ट्रलर सिनेमा म्यानेजमेन्ट सिस्टम) परीक्षण कार्य भइरहेको थियो। यस प्रणाली अन्तर्गत सोमबार रातिसम्ममा परीक्षणकालको डाटा हटाएर मंगलबारबाट वास्तविक डाटा संकलन गरिनेछ। मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बक्स–अफिसको उद्घाटन गर्ने कार्यक्रम छ।
कुन–कुन हलमा लागू हुँदैछ?
उपत्यकाका मल्टिप्लेक्स हलहरुका साथै केही सिंगल थिएटरमा बक्स–अफिस प्रणाली सुरु गरिँदै छ।
मल्टिप्लेक्सहरुमा सेन्ट्रल सिनेमा प्रालि सुन्धारा, सिने–डि सेफ सुन्धारा, सिनेमार्क (क्युज) मुभिज दरबारमार्ग, जय नेपाल नक्साल, म्याक्स इन्टरटेन्मेन्ट बागबजार, सिने स्टार प्रालि (बिग मुभिज) कमलपोखरी, कुमारी हल कमलपोखरी, केएल सिनेमा सिटी चुच्चेपाटी, सार्थक इन्टरटेन्मेन्ट (विएसआर मुभिज) गोंगबु, ललित सिनेमा (लविम) र क्युएफएक्स छाया ठमेल छन्।
यस्तै, ९ वटा सिंगल थिएटरमा यो प्रणाली सुरु हुँदै छ। पृथ्वी चलचित्र मन्दिर प्रालि बौद्ध, श्री सिद्धार्थ सिनेमा प्रालि बौद्ध, गोपीकृष्ण मुभिज चावहिल, अष्टनारायण पिक्चर्स बालाजु, कलंकी चलचित्र मन्दिर, गुण सिनेमा ग्वार्को, बाराही मुभिज सूर्यविनायक, विश्वज्योति जमलमा बक्स–अफिस प्रणाली लागू हुनेछ।
यसअघि बोर्डले गत बैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा बक्स–अफिस लागू हुने घोषणा गरेको थियो। तर, प्राविधिक कुरा नमिलेपछि उक्त मितिमा सुरु हुन सकेको थिए। वर्तमान सरकारले ०७५/७६ को बजेटमै नयाँ आर्थिक वर्षबाट बक्स–अफिस प्रणाली लागू गर्ने निर्णय गरेपछि साउन १ गते यो प्रणाली लागू हुन लागेको हो।
उपत्यका बाहिर दोस्रो चरणमा
पहिलो चरणमा उपत्यकाभित्रका हलहरुमा र त्यसपछि उपत्यका बाहिर यो प्रणाली लागू गर्ने सरकारको तयारी छ। उपत्यका बाहिर आउदो माघ १ गतेबाट उक्त प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
बक्स-अफिस लागू नहुँदा वर्षौंदेखि निर्माता, वितरक र हल मालिकहरुबीच फिल्मको कमाइबारे आशंका र कतिपय अवस्थामा विवाद समेत हुने गरेको थियो। तर, साउन १ गतेपछि फिल्म प्रदर्शन र त्यसको व्यापारमा देखिने अनियमितता र बेमेलको स्थिति अन्त्य हुने बोर्डका बजार विश्लेषक मनिष पण्डित दाबी गर्छन्।
यससँगै फिल्मको व्यापार पारदर्शी भई नेपाल सरकारले राजस्व संकलन गर्न सहज हुनेछ।
के हो बक्स-अफिस?
हलहरुमा फिल्म लागेपछि कमाइको हिसाब–किताब पारदर्शी बनाउने प्रणाली हो, बक्स अफिस। यो प्रणाली लागू भएपछि सबै हलले विद्युतीय उपकरणबाट मात्र टिकटको कारोबार गर्न पाउँछन्। जसका कारण हलले गर्ने सम्पूर्ण आर्थिक कारोबारको रिपोर्ट ‘इन्टरनेट’को माध्यमबाट केन्द्रीय ‘डाटाबेस सर्भर’मा जम्मा हुन्छ। उक्त सर्भरको नियमन भने गर्भमेन्ट इन्ट्रिग्रेटेड डाटा सेन्टर (जिआइडिसी)ले गर्नेछ।
उक्त केन्द्रीय सर्भरको माध्यमबाट सम्पूर्ण विवरण ‘बक्स अफिस’लाई नियन्त्रण गर्ने प्रशासनिक निकायलाई जिम्मा दिइनेछ। यसको अनुगमन फिल्म निर्माता र वितरक कम्पनीले गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।