काठमाडौं- फ्रान्सले दोस्रो पटक विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा क्रोएसियालाई ४-२ गोलले पराजित गर्दै फ्रान्सले २० वर्षपछि दोस्रो उपाधि जितेको हो। यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो पटक उपाधि जितेको थियो।
यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको उपाधि जितेर नयाँ च्याम्पियन बन्ने लक्ष्य अधुरै रह्यो।
खेलको १८ मिनेटमा फ्रान्सले अग्रता लियो। क्रोएसियाका फरवार्ड मारियो मान्जुकिकले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्सलाई फाइदा पुगेको थियो। डिबक्स बाहिर पाएको फ्रिकिकमा एन्टोनी ग्रिजम्यानले हानेको प्रहारलाई छेक्ने क्रममा मान्जुकिकको हेडर आफ्नै पोस्टमा छिरेको थियो। मान्जुकिक विश्वकपको फाइनलमा आत्मघाती गोल गर्ने पहिलो खेलाडी बने।
२८ मिनेटमा क्रोएसियाले बराबरी गोल फर्काउन सफल भयो। डिबक्स भित्र डिफेन्डर भिडाले दिएको पासमा इभान पेरिसिकले उत्कृष्ट फिनिसिङ गर्दा क्रोएसियाले खेललाई १-१ को अवस्थामा ल्यायो। विश्वकप २०१८ मा पेरिसिकको यो तेस्रो गोल हो।

३८ मिनेटमा फ्रान्सले खेलमा दोस्रो पटक अग्रता लिन सफल भयो। यसपटक पनि फ्रान्सले गोल गर्न क्रोएसियाकै खेलाडीको गल्तिको फाइदा उठायो। कर्नर बलमा पेरिसिकले ह्यान्ड गरेपछि रेफ्रीले भिएआर रिभ्यूमार्फत पेनाल्टी दिने निर्णय गरेका थिए। पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गर्दा पहिलो हाफमा फ्रान्स २-१ ले अघि रह्यो।

५९ मिनेटमा फ्रान्सले तेस्रो गोल गर्न सफल भयो। पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे। पोग्बाले डिबक्स बाहिरबाट लोभलाग्दो गोल गरेका थिए। उनको पहिलो प्रहारलाई क्रोएसियाका रक्षापंक्तिले रोकेको थियो। फर्किएको आएको बलमा पोग्बा गोल गर्न सफल भए।

६५ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ४-१ ले अघि बढाए। एमबाप्पेले डिबक्स नजिकबाट उत्कृष्ट गोल गरेका थिए। उनले २०१८ विश्वकपमा चार गोल गर्न सफल भए।
अन्त्यतिर मान्जुकिकले क्रोएसियाका लागि दोस्रो गोल गर्दा खेल ४-२ मा आयो। उनले फ्रान्सका गोलकिपर हुगो लोरिसले ब्याक पास क्लियर गर्न नसकेको बल खोस्दै गोल गरेका थिए।
त्यसपछि खेलमा कुनै गोल नहुँदा फ्रान्सले ४-२ गोलले खेल जितेर विश्व च्याम्पियन बन्यो।
खेल विवरण









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।