विराटनगर- नेपाल आयल निगमको प्रदेश नम्बर १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा शनिबारदेखि ‘लक सिस्टम’ लागू गरेको छ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्तरुपमा लक सिस्टमको उद्घाटन गरे। सो अवसरमा निगमका कार्यकारी निर्देशक भट्टराईले सबै पक्षको सहमति आएको आधुनिक लक सिस्टमले तेलको गुणस्तर कायम राख्ने लगायत उद्देश्यमा सहयोग पुग्ने हुने विश्वास व्यक्त गरे।
प्रजिअ आचार्यले आधुनिक प्रविधिको रुपमा आएको लक सिस्टमलाई सबैको सहयोगमा सफल बनाउनुपर्ने बताए। लक सिस्टम लागू भएसँगै आयल निगमका ३४० ट्यांकरमा ताला लगाएको छ।
लक सिस्टम (ताला) भारतमा तेल भर्दा लाग्ने र नेपाल आयल निगमको डिपोमा मात्रै लक खुल्ने आयल निगमले जनाएको छ। सेन्सरसहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवादल गायत समस्या समाधान हुने आयल निगमको भनाइ रहेको छ।
यसअघि यो प्रणाली झापा, कैलाली लगायतका ठाउँमा लागू भइसकेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।