सुर्खेत– फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका नागरिकले स्थायी परिचयपत्र पाएका छन्। दैलेख जिल्लाको गुराँस गाउँपालिकाले शनिबार उनीहरुलाई स्थायी परिचयपत्र हस्तान्तरण गरेको छ।
हाल सोही गाँउपालिकामा बसोबास गरिरहेका ४२ घरधुरीका एक सय ४९ जना राउटे नागरिकलाई परिचयपत्र प्रदान गरिएको हो। गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको नाम, थर र ठेगाना खुल्ने गरी परिचयपत्र वितरणको व्यवस्था गर्न गाउँपालिकालाई परिपत्र गरेको थियो। सोही परिपत्रका आधारमा परिचयपत्र वितरण गरिएको हो।
स्थायी परिचयत्र पाएसँगै अबदेखि राउटे समुदायका नागरिले राज्यमार्फत पाउने सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकाबाट प्राप्त गर्नेछन्। यसअघि उनीहरुले विभिन्न स्थानबाट उक्त भत्ता लिँदै आएका थिए।
गुराँस गाँउपालिका अध्यक्ष खेमराज वलीले परिचय पत्र वितरण भएसँगै राउटेहरु पनि अब गुराँसका स्थायी बासिन्दा भएको भन्दै उनीहरुको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका जिम्मेवारी अब स्थानीय सरकारको भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।