रसुवा- अविरल वर्षासँगै आएको पहिरोले रसुवामा गएराति एक घर पुरिएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका ४ भञ्ज्याङडाँडामा पहिरो जाँदा वीरबहादुर विकको घर पुरिएको हो।
पहिरोले घर पुरिए पनि मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए। 'गएराति विकको परिवारले खाना खाइरहेको समयमा पहिरो गएको हो,' उनले भने, 'तर तत्काल भागेको हुँदा मानवीय क्षति भने हुन पाएन।'
घर पुरिएपछि विकको परिवार घरविहीन भएका छन्।
एक सयभन्दा बढी घर जोखिममा
जिल्लाको नौकुण्ड गाउँपालिका २ युब्राका एक सय १० घरधुरी पहिरोको उच्च जोखिममा रहे छन्। स्थानीय विपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार शुक्रबार राति युब्रामा गाउँको बीचबाट पहिरो गएको छ। पहिरोले करिब एक सय रोपनी खेतीयोग्य जमिनमा क्षति गरेको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्।
जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि कार्य अघि बढाउने उनले बताइन्। प्रहरी प्रशासनको सहयोगमा क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।