काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध एभरेस्ट प्रिमियर लिग (ईपीएल)ले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ।
क्यानले आफ्नो नेपाल टी–२० लिग बाहेकका अरु फ्रेन्चाइजी लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेसँगै एभरेस्ट प्रिमियर लिगका आयोजक र ६ टिमहरुले कानुनी उपचारको बाटो खोजेका हुन्।
ईपीएलले बिहीबार एक वक्तव्य जारी गरी क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको जनाकारी दिएको छ। सर्वोच्चमा बुधबार रिट दायर पेस भएको थियो।
क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गर्दै चार संस्करणको सफल आयोजना गरिसकेको ईपीएललाई मान्यता नदिने स्पष्ट पारेको थियो।
त्यसपछि ईपीएलका आयोजक र ६ फ्रेन्चाइजी टोलीहरुले पनि संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै क्यानको निर्णयले आफूलाई ठूलो घाटा हुने भन्दै आफूहरुको माग सम्बोधन नगरे कुनै पनि कार्यक्रममा उपस्थित नहुने चेतावनी दिएका थिए।
त्यसको विपक्षमा क्यानले ईपीएलले गरेको पत्रकार सम्मेलनले ध्यानाकर्षण गराएको र नेपाल टी–२० लिग नै आधिकारिक रहेको भन्दै अन्य लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको थियो। यसका साथै हाल अस्वित्वमा रहेका फ्रेन्चाइजी लिगलाई प्रदेश संरचनामा लिन सकिने जवाफ फर्काएको थियो।
तर, ईपीएलले क्यानको त्यो निर्णयलाई स्वीकार गर्न नसकिने र यसको निकासका लागि कानुनी बाटोमा जाने बताएको थियो।
यस्तै, क्यानले नेपाल टी–२० लिग आयोजना गर्न भारतीय कम्पनी सेभेन स्पोर्ट्स थ्री प्राइभेट लिमिटेडसँग गरेको सम्झौतामा धेरै प्रश्नहरु खडा हुने अवस्था रहेको र सो कम्पनीबीच भएको सम्झौता नेपालको कानुन विपरित भएको ईपीएलको ठहर छ।
क्यानले आयोजनाको अधिकार सेभेन स्पोर्ट्स थ्री प्राइभेट लिमिटेडलाई ८ वर्षका लागि ३३ करोड रुपैयाँमा सुम्पिएको छ। असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने भनिएको लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न सहभागी हुने क्यानले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।