कास्की- कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा दलित र सीमान्तकृतका विषय समेटेर स्थानीय पाठ्यक्रम निर्माण र लागू गर्ने भएको छ।
गाउँपालिकाका निर्वाचित पदाधिकारी, सहयोगी विद्यालयका शिक्षक, पाठ्यक्रम विकास केन्द्रका विज्ञ, अनुसन्धानकर्ता र सरोकारवालाबीचको कार्यशाला गोष्ठीबाट सो निष्कर्ष निकालिएको हो।
समता फाउण्डेसन काठमाडौँको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयको सामाजिक तथा सांस्कृतिक मानवशास्त्र अध्ययन संस्थानको अध्ययनबाट नमुना पाठ तयार गरी कास्कीका तीन वटा विद्यालयमा परीक्षण गरिएको थियो। अक्सफोर्ड विश्वविद्यालयबाट सञ्चालित उक्त परियोजनाको नेतृत्व प्रा डेविड गेल्नरले गरेका छन्।
अन्नपूर्ण गाउँपालिकाको विशेष अनुरोधमा नयाँ पाठ परीक्षण भई सोको नतिजामाथि छलफल सम्पन्न भएको छ।
गोष्ठीमा अध्ययनको नतिजा, नीतिपत्र एवं अनुभव साटासाट गरिएको थियो। अक्सफोर्ड विश्वविद्यालयबाट अध्ययनलाई सहनेतृत्व गरेका डा कृष्ण अधिकारीले यसअघि सम्पन्न जात, वर्ग र संस्कृति अध्ययनको नतिजा प्रस्तुत गर्दै नेपालमा जातीय अन्तरसम्बन्धमा व्यापक परिवर्तन भएको र सार्वजनिक क्षेत्रमा छुवाछुत धेरै घटेको भए तापनि निजी मामलामा परिवर्तन हुन धेरै बाँकी रहेको बताए।
नेपालमा दलितसम्बन्धी नीति दलित सशक्तीकरण, आरक्षण र सेवामा पहुँच बढाउनेतर्फमात्र केन्द्रित रहेको तर भेदभाव र छुवाछुत विषयका सामाजिक रूपले बहुआयामिक र बहुपक्षीय चरित्रमाथि न्यून ध्यान गएका कारण समस्या लम्बिन सक्ने अध्ययनले देखाएको डा अधिकारीको भनाइ छ। उनका अनुसार बहुआयामिक समस्याको बहुआयामिक समाधान खोजिनुपर्ने र जातीय भेदभाव र छुवाछुत हटाउन आम शिक्षामा जोड दिनुपर्ने निष्कर्षका साथ विद्यालय तहको पाठ्यक्रममै दलितसम्बन्धी पाठ परीक्षण गरिएको हो।
पाठ्यक्रम विकास केन्द्रका विज्ञद्वय सुरेशकुमार जोशी र विष्णुप्रसाद अधिकारीले स्थानीय पाठ्यक्रमसम्बन्धी विद्यमान सैद्धान्तिक तथा नीतिगत व्यवस्था, गुणस्तरीय शिक्षाका लागि संघीयतामा स्थानीय तहको बढ्दो भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। पाठ्यक्रमसम्बन्धी विकेन्द्रीकरणको नीतिगत व्यवस्था भएको धेरै वर्ष भए पनि हालसम्म अपवादबाहेक स्थानीय पाठ्यक्रमका अवधारणा राम्रोसँग लागू हुन सकेको छैन।
संघीयता कार्यान्वयनमा आएसँगै पाठ्यक्रम निर्माणमा स्थानीय तहको भूमिका बढ्ने अपेक्षा गरिएको छ।
समता फाउण्डेसनका अध्यक्ष प्रदीप परियारले अन्नपूर्ण गाउँपालिकाको अग्रसरता प्रशंसनीय भएको भन्दै दलित नेतृत्व विकासमा ठोस कदम चाल्न सुझाव दिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।