काठमाडौं– सहरी विकास मन्त्रालयले एक वर्षमा २ सय वटा स्वास्थ्य भवन निर्माण गर्ने भएको छ।
आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यको कार्ययोजनामा आगामी वर्ष २ सय वटा र ५ वर्षभित्र ९ सय १९ वटा स्वास्थ्य भवन निर्माण गर्ने जनाएको छ। साथै, १३ वटा एकीकृत सरकारी कार्यालय भवनमध्ये आगामी आर्थिक वर्षमा २ वटा निर्माण गरिसक्ने मन्त्रालयले जनाएको छ। बाँकी ११ वटा भवन आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ।
योजनामा रहेका ४० वटा सभाहलमध्ये आगामी एक वर्षमा ४० वटा निर्माण पूरा गर्ने योजना मन्त्रालयको छ। साथै, तीन वर्षमा १७ वटा र ५ वर्षमा १९ वटा सभाहल निर्माण गर्ने योजना छ।
यस्तै, नेपाल–भारत सीमा एकीकृत जाँच चौकी तीन वटा बनाउने योजना रहेकोमा आगामी दुई वर्षमा एउटा र बाँकी दुई वटा ५ वर्षमा निर्माण सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ।
प्रदेशलाई ११ अर्ब ७२ करोड
मन्त्रालयले विभिन्न निर्माण कार्यका लागि ११ अर्ब ७२ करोड ३३ लाख ६६ हजार रुपैयाँ प्रदेशलाई दिने जनाएको छ। प्रदेशमा आवास व्यवस्था कार्यक्रमका लागि ४ अर्ब ४९ करोड ५० लाख रुपैयाँ छुट्याएको छ।
मन्त्रालयले प्रदेशका सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयहरुका लागि ४० करोड १९ लाख २९ हजार रुपैयाँ हस्तान्तरण गर्ने जनाएको छ।
त्यस्तै, एकीकृत कार्यमूलक योजनाका लागि १२ करोड रुपैयाँ छुट्याइएको छ भने विराटनगर चक्रपथ आयोजनाका लागि ५ करोड ५ लाख रुपैयाँ दिने जनाएको छ।
नमूना एकीकृत बस्ती विकास कार्यक्रमका लागि ३४ करोड रुपैयाँ, नयाँ सहर आयोजनाका लागि १ अर्ब ८७ करोड ९ लाख २३ हजार रुपैयाँ र क्षेत्रीय सहरी विकास कार्यक्रमका लागि ४ अर्ब ४४ करोड ४९ लाख १६ हजार रुपैयाँ छुट्याउने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।