भक्तपुर- ३ नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोइरालाले भक्तपुरमा बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारसँग पीडित परिवारलाई आवश्यक सहयोग गर्न आग्रह गरेकी छिन्।
प्रदेश ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँगको भेटमा बाढी र डुबानले भएको क्षतिबारे जानकारी लिँदै प्रदेश प्रमुख कोइरालाले यस्तो आग्रह गरेकी हुन्।
कोइरालाले मध्यपुर थिमि क्षेत्रमा हनुमन्ते खोलामा आएको बाढीले पुर्याएको क्षति र चाँगुनारायण नगरपालिका क्षेत्रमा पहिरोका कारण मृत्यु भएकाका परिवार एवं त्यहाँको अवस्थाबारे जानकारी लिएकी थिइन्।
उनले प्रदेश सरकारलाई क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिन्। पीडितका लागि पाल, झुल, लत्ताकपडा लगायतका भौतिक सामग्री आवश्यक परे व्यक्तिगत रुपमा आफू सहयोग गर्न तयार रहेको प्रदेश सदस्य श्रेष्ठ र नगरप्रमुख श्रेष्ठलाई उनले जानकारी गराएकी थिइन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।