काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मतपरिणाम आइसकेको बताएको छ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मतपरिणाम आइसकेको बताए। हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको उनले जानकारी दिए।
हालसम्म नगर प्रमुखमा १७४, उपप्रमुखमा १७४, गाउँपालिका अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्यमा ५ हजार ५५६ र वडा सदस्यमा १ हजार २९५ गरी कूल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए।
‘हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका छन्,’ प्रवक्ता पौडेलले भने, ‘३५ हजार २२१ कुल पदाधिकारी निर्वाचित हुनुपर्नेमा करिब ८० प्रतिशतको परिणाम आइसकेको छ ।’
बैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको उनले जानकारी दिए। यस्तै, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनले बताए।
प्रवक्ता पौडेलले पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका संकलन भएको बढीमा ४ दिनभित्र मतगणना कार्य सम्पन्न हुने बताए।
आयोगले निर्वाचनको क्रममा मतदान स्थलमा कानुन विपरीत गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।