प्रतिकात्मक तस्बिर काठमाडौं– महोत्तरीको बर्दिबास नगरपालिका वडानम्बर ८ का वडाध्यक्ष र सदस्यका उम्मेदवारहरु विजयी भएको घोषणा भएपछि एउटा मतपेटिका सिलबन्दी गरिएको अवस्थामा फेला परेको छ।
मतगणना सकिएको भन्दै बढी मत ल्याएका उम्मेदवारले विजयी जुलुस समेत गरिसकेको अवस्थामा सिलबन्दी गरिएको मतपेटिका भेटिएपछि निर्वाचन अधिकृतको कार्यालयले के गर्ने? भन्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ। ९ वटा मतपेटिका रहेको उक्त क्षेत्रमा आठवटा मात्र गणना भएको, कुनामा राखिएको मतपेटिका मतगणनास्थलमा लैजान छुटेका कारण यस्तो घटना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
वुधबार बर्दिबास नगरपालिका–८ को मत परिणाम सार्वजनिक गर्दै बढी मत पाउनेलाई विजय भएको घोषणा गरएको थियो। उम्मेदबार विजयी भएको घोषणा गरेको अवस्थामा अब कसरी मत गन्ने वा के गर्ने भन्ने विषयमा अन्योल भएपछि निर्वाचन आयोगलाई पत्र लेखिएको हो।
यो वडामा माओवादी केन्द्रका शमशेरसिंह लामा वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएको थियो। लामाले ७५३ मत पाएका थिए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का रुद्र किङरिङले ७४४ मत पाएका थिए।
निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले गणना गर्ने समयमा मतपेटिका नभेटिएको, तर पछि भेटिएकाले के गर्ने भन्ने अन्योल भएर आयोगलाई पत्र पठाइएको र आयोगले जवाफ दिएपछि त्यही अनुसार अघि वढ्ने बताए।
तर, कम मत पाएको एमालेले भने धाँधली भएको आरोप लगाएको छ। अहिले सर्वदलीय वैठक बस्ने तयारी पनि भइरहेको छ।
सिल नखोलिएको मतपेटिकामा ८० देखि ८५ मतपत्र रहेको छ। मतपेटिका स्टोरमा राख्ने क्रममा सिल नखोलिएको भेटिएको निर्वाचन अधिकृतको कार्यालय, बर्दिबासले जनाएको छ।
उक्त नगरपालिका स्वतन्त्र उम्मेदबारले अग्रता कायम गरेका छन्। स्वतन्त्रमा जेव्रा निर्वाचन चिह्न लिएका प्रहलाद क्षेत्रीले १३ हजार १ सय ९३ मत पाएर अग्रता कायम गरिरहेका छन्। उनलाई पछ्याउदै माओवादी केन्द्रका राजु खड्काले ७ हजार ६ सय ६४ मत पाएका छन्। हाल उक्त नगरमा मतगणना जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।