धनगढी– कैलालीमा बुधबार दिउँसो २ बजेसम्म चार वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। १३ वटा स्थानीय तह रहेको कैलालीमा वैशाख ३० गते सम्पन्न मतदानको मतगणना जारी रहेको छ।
४ वटा स्थानीय तहमध्ये २ वटामा नेकपा एमाले तथा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले १/१ पालिकाको प्रमुख/अध्यक्ष जितेका छन्।
कैलालीका दुई वटा स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष निर्वाचित भएका छन्। अहिलेसम्म सार्वजनिक भएको चार वटा स्थानीय तहको मतपरिणाम अनुसार मोहन्याल र वर्दगोरिया गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा पुरुष निर्वाचित भएका हुन्।
वर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कर्ण थापा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशराज गिरी निर्वाचित भएका छन्।
कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार धरमबहादुर थापालाई पराजित गर्दै उपाध्याय गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ३ हजार १३४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी थापाले २ हजार ७१५ मत प्राप्त गरेका हुन्।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका कमलबहादुर साउद निर्वाचित भएका छन्। उनले ३ हजार ३३९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सरस्वती देवी रावल विष्टले २ हजार ३०३ मत प्राप्त गरेकी थिइन्। सो गाउँपालिकामा ७ हजार ७९० मत खसेको थियो।
यस्तै, चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार चक्रबहादुर बोगटी र उपाध्यक्षमा नेपाली कांग्रेसकी धनादेवी थापा निर्वाचित भएकी छन् भने गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विरेन्द्र भट्ट र उपप्रमुखमा नेकपा एमालेकी शारदादेवी रोकाया निर्वाचित भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।