गोकर्ण भट्ट (फाइल तस्बिर) धनगढी– नेकपा एमालेका सचिव लेखराज भट्टका भाइ गोकर्ण भट्ट कैलालीको गोदावरी नगरपालिकाको मेयरमा पराजित भएका छन्। २०७४ सालको चुनावमा माओवादीबाट मेयर उठ्दा हारेका भट्ट यसपटक एमालेको उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिँदा पनि जित्न सकेनन्।
२०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार हरि सिह साउँद गोदावरीको मेयर निर्वाचित हुँदा भट्ट तेस्रो स्थानमा थिए। त्यतिबेला कांग्रेसका विरेन्द्र भट्टलाई पराजित गर्दै एमालेका साउँद मेयर निर्वाचित भएका थिए।
२०७४ सालको स्थानीय तह निर्वाचनमा गोदावरीको मेयरमा निर्वाचित भएका साउँदले ९ हजार ८७० मत ल्याएका थिए। कांग्रेसका विरेन्द्र भट्टले ८ हजार ४५७ मत ल्याएका थिए भने माओवादीका गोकर्ण भट्टले ६ हजार ४८१ मत ल्याएका थिए।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा दाइ लेखराजसँगै भाइ गोकर्ण पनि एमालेमा रहे। यसपटक स्थानीय तहको चुनावमा एमालेले गोकर्णलाई मेयरको उम्मेदवार बनायो।
२०७४ सालमा पनि मेयरका लागि लडेका दुई नेता कांग्रेसका विरेन्द्र भट्ट र माओवादी छाडेर एमाले रोजेका गोकर्ण भट्टबीच मुख्य प्रतिस्पर्धी भए। तर, यसपटक पनि गोकर्ण भट्टले हार बेहोर्नु परेको छ।
गोदावरी नगरपालिकामा यसपटक नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। मेयर पाएको कांग्रेसले विरेन्द्र भट्टलाई उम्मेदवार बनाएको थियो। एकीकृत समाजवादीले रत्ना कडायतलाई उपमेयरको उम्मेदवार बनायो।
कांग्रेस उम्मेदवार विरेन्द्र भट्ट १५ हजार ५०१ मत ल्याउँदै मेयरमा निर्वाचित भएका छन्। एमालेका उम्मेदवार गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याए।
उपमेयरमा भने एमालेकै उम्मेदवार विजयी भइन्। एमालेकी शारदा देवी रोकाया १० हजार ६०० मत ल्याउँदै उपमेयरमा निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।