काठमाडौं– सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दिनेश अधिकारी भारी मतान्तरसहित विजयी भएका छन्।
नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका लक्ष्मण कार्कीलाई ५ हजार १८६ मतान्तरले हराउँदै माओवादीका अधिकारी मेयरमा निर्वाचित भएका हुन्। अधिकारीले १५ हजार ८३८ मत ल्याउँदा कार्कीले १० हजार ६५२ मत ल्याए।
दुधौली नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए। उपमेयरमा कांग्रेसका चन्द्रकिशोर थारु विजयी भए। उनले एमालेकै निवर्तमान उपमेयर बालकुमारी अधिकारीलाई ३ हजार ६०२ मतान्तरले पराजित गरे। चन्द्रकिशोरले १४ हजार २१३ मत ल्याउँदा बालकुमारीले १० हजार ६११ मत ल्याइन्।
पाँच वर्षअघिको स्थानीय चुनावमा अधिकारी (हाल मेयरमा निर्वाचित) एमालेसँग पराजित भएका थिए। त्यतिबेला एमालेका घनश्याम राउत ८ हजार ५९८ मत ल्याएर विजयी हुँदा अधिकारीले ८ हजार २२३ मत ल्याएका थिए। त्यतिबेला उनी ३७५ मतले पराजित भएका थिए। अहिले उनै अधिकारीले अघिल्लो हारको बदला एमालेसँग लिएका छन्।
अघिल्लोपटक सिन्धुलीमा कांग्रेसको तर्फबाट प्रदेश सभामा पराजित भएका गंगाप्रसाद गिरीले नेपाली कांग्रेस (वीपी) को तर्फबाट मेयरमा उम्मेदवारी दिएका थिए। उनले भने जम्मा ५४१ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।