काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत रुपन्देहीका दुई पालिकाको नतिजा आएको छ। जिल्लाको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन्। बस्याल सात हजार ९८३ मत ल्याइ विजयी हुनुभएको हो।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का किशुनचन्द्र चौधरीले ६ हजार २७० मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा एमालेका शान्तादेवी ज्ञवाली ६ हजार ६८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपाध्यक्षका गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र)का शारदा भुसालले तीन हजार २५५ मत प्राप्त गरिन्।
शुद्धोधनको वडा नं १ मा जसपाका उदयराज गडेरिया, वडा नं २ मा कांग्रेका कमल खड्का क्षेत्री विजयी भएका छन् भने वडा नं ३ मा एमालेका हेमबहादुर खड्काले जित हासिल गरेका छन्। वडा नं ४ मा कांग्रेसका केशवप्रसाद अधिकारी, वडा नं ५ मा कांग्रेसका चन्द्रमान चौधरी, वडा नं ६ मा कांग्रेसकै उपेन्द्र सहानी, ७ मा पनि कांग्रेसकै भीमबहादुर यादव विजयी भएका छन्।
यसैगरी जिल्लाको रुपन्देहीको कन्चन गाउँपालिकामा कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन्। उनले दिनानाथ आचार्यलाई पराजित गरे। ढकालले ९ हजार ८५ मत र आचार्यले ७ हजार ८४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
उपाध्यक्षमा कांग्रेसकै मौसमी थापा मगर ९ हजार १९४ मत ल्याई विजयी भएका छन्। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ओमकली रहाडीले सात हजार ६९९ मत प्राप्त गर्नुभयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।