काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत भोजपुरको सम्पूर्ण मतगणना सकिएको छ। त्यहाँका ९ पालिकामध्ये कांग्रेस र एमालेले तीन-तीन, माओवादी केन्द्रले दुई र स्वतन्त्र उम्मेदवारले एक पालिकाको नेतृत्व जितेका छन्।
कांग्रेसले अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाको नेतृत्व जितेको छ। २०७४ सालमा कांग्रेसले अरुण गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाको नेतृत्व जितेको थियो।
यसपटक एमालेले पौवादुङमा गाउँपालिका, षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिकाको नेतृत्व जितेको छ। २०७४ सालमा उसले टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिकाको नेतृत्व जितेको थियो।
त्यस्तै, माओवादी केन्द्रले आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको नेतृत्व जितेको छ। २०७४ सालमा उसले आमचोक गाउँपालिकामा मात्रै जिते निकालेको थियो।
यसपटक स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ राईले साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष जितेका छन्। उनले यसअघिका अध्यक्ष महेश राईलाई पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।