काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जित हासिल गरेको छ। राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका छन्।
नापितले ४७०० मत पाउँदा नकटतम प्रतिश्पर्धी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत पाए। श्रेष्ठलाई कांग्रेसको समर्थन थियो। राप्रपा भने एक्लै प्रतिश्पर्धामा थियो। मेयरमा एमालेका कृष्णलाल बजगाईंले ३६२२ मत पाए।
उपमेयरमा भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार समिता श्रेष्ठ विजयी भइन्। उनले ६३६२ मत पाउँदा निकटतम् प्रतिश्पर्धी राप्रपाकी विजयकुमारी वाइबाले ३२९८ मत पाइन्। एमालेकी लक्ष्मी केसीले २९४३ मत पाइन्।
९ वडा रहेको शंखरापुरमा राप्रपाले तीन वटा वडाध्यक्ष जितेको छ। बहुमत वडा भने कांग्रेसले जितेको छ। कांग्रेसले चार वटा वडा जित्दा एमाले र माओवादी केन्द्रले एक एक वटामा जित हात पारेका छन्।
राप्रपाले जितेको यो दोस्रो पालिका हो। यसअघि झापाको हल्दिबारीमा पनि राप्रपा विजयी भएको थियो।
उता झापाको दमकको मेयरमा राप्रपाले अग्रता कायम गरिरहेको छ। हटौंडा उपमहानगरपालिकासहित कपिलवस्तुको शिवराज नगरपालिका तथा रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा भने दोस्रो स्थानमा पछ्याइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।