काठमाडौं– एक्लै चुनावमा उठ्दा ७ सय ९२ मतान्तरले जितेको ठाउँमा गठबन्धन गर्दासमेत नेपाली कांग्रेस पराजित भएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका छन्। गठबन्धन दल कांग्रेसबाट उम्मेदवारी दिएका पुष्पबहादुर कार्कीलाई पराजित गर्दै एमालेका शंकरराज बराल विजयी भएका हुन्।
बराल ४ हजार ७ सय ४४ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कार्कीले ४ हजार ४ सय ६३ मत ल्याए। पराजित कार्की निर्वतमान अध्यक्ष समेत हुन्।
एक्लै चुनाव लड्दा यसअघि कांग्रेसले गोलन्जोरमा ३ हजार ३ सय ७६ मतसहित जित हासिले गरेको थियो। यसपटक माओवादीको समेत साथ पाएकाले राम्रो मतसहित जित हासिल गर्नेमा कांग्रेस ढुक्क जस्तै थियो।
अघिल्लो चुनावमा गोलन्जोरको प्रमुखमा एमालले २ हजार ५ सय ८४ मत पाएको थियो भने माओवादीले २ हजार १ सय ११ मत पाएको थियो। तर गठबन्धनको चुनौतीलाई पछि पार्दै एमाले विजयी भएको छ।
उपप्रमुखमा भने गठबन्धन दल माओवादी केन्द्रका उम्मेदवार ज्वालाप्रसाद न्यौपाने (पुकार) विजयी भएका छन्। न्यौपाने ४ हजार २ सय ४२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी एमालेकै ममता देवकोटाले ३ हजार ८ सय ३८ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।