काठमाडौं– देशभरका ६ वटा महानगरपालिकाको मतगणना कार्य जारी छ। पछिल्लो मतपरिणाम अनुसार ६ वटा महानगरपालिका मध्ये काठमाडौं महानगरपालिका बाहेकका ५ वटामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। काठमाडौं महानगरपालिकामा भने गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्।
मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले ९ हजार मत प्राप्त गर्दा नेकपा एमालेका सागरकुमार थापा ६ हजार ६६७ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने नेकपा एमालेका शिल्पा कार्कीले ७ हजार ६४६ मत प्राप्त गरेकी छन् भने गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ४ हजार ८४४ मत प्राप्त गरेका छन्।
पर्साको वीरगञ्ज महानगरपालिकामा जसपाका राजेशमान सिंहले ८ हजार १३१ प्राप्त गर्दा नेकपा एमालेका विजयकुमार सरावगीले ३ हजार ६२२ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ५ हजार ४२३ र लोसपाका पुरुषोत्तमलाल झाले ९१० मत प्राप्त गरेका छन्।
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ७ हजार ९२० र नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३ हजार ४७६ मत प्राप्त गरेका छन्। त्यस्तै उपप्रमुखमा नेकपा एमालेका मन्जली शाक्य बज्राचार्यले ४ हजार ४५ र नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले २ हजार ५१७ मत प्राप्त गरेका छन्।
काठमाडौं महानगरपालिमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह १० हजार ३४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका केशव स्थापितले ५ हजार ४४५ र नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ सिंहले ४ हजार ७०७ मत प्राप्त गरेकी छन्।
उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले १० हजार ३१५ र नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ४० मत प्राप्त गरेका छन्।
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार २०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६ हजार ११५ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ३ हजार २२ मत प्राप्त गरेका छन्।
भरतपुरको उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५५८ र राप्रपाका हिमला गुरूङले ५ हजार १० मत प्राप्त गरेका छन्।
पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ९ हजार ४०२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ७ हजार ९५४ मत प्राप्त गरेका छन्।
पोखराको उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ९ हजार ६७९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरूङले ९ हजार ४० मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।