काठमाडौं- रुपन्देहीमा सत्ता गठबन्धनको प्रभाव देखिएको छ। त्यहाँ ११ स्थानमा कांग्रेसले अग्रता बनाउँदा एमालेले कुनैमा पनि अग्रता बनाउन सकेको छैन। सीके राउतको जनमत पार्टीले दुई ठाउँमा र राप्रपा, जसपा तथा लोसपाले एक एक गाउँमा अग्रता बनाएका छन्।
बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले फराकिलो अग्रता बनाएका छन्। उनले १० हजार ६११ मत पाउँदा एमालेका बाबुराम भट्टराईले ७ हजार ८२ मत मात्र पाएका छन्।
उपमेयरमा भने एमालेकी सावित्रीदेवी अर्यालले ७ हजार ८८३ मतसहित अग्रता बनाएकी छिन्। माओवादी केन्द्रका चीनबहादुर गुरुङको ५ हजार ६८२ मत छ।
कांग्रेसले बुटवल उपमहानगरसहित नगरपालिकाहरु तिलोत्तममा, देवदह, सैनामैना र सिद्धार्थनगर तथा गाउँपालिकाहरु कञ्चन, मर्चवारी, मायादेवी, शुद्धोदन, सम्मरीमाई तथा सियारीमा अग्रता लिएको छ।
सीके राउतको जनमत पार्टीलाई लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकामा अग्रता मिलेको छ। लुम्बिनी सांस्कृतिकमा जनमतलाई एमालेले र गैडहवामा लोसपाले पछ्याइरहेका छन्। एमालेले बुटवलसहित केही पालिकाको उपमेयरमा भने अग्रता लिएका छन्।
लोसपाले कोटियामाइ र जसपाले रोहिणी गाउँपालिकामा अग्रता लिएका छन्। त्यसैगरी राप्रपाले ओमसतिया गाउँपालिकामा अग्रता लिएको छ। राप्रपाले सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिका दोस्रो स्थानमा रहेर पछ्याइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।