काठमाडौं– भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ। नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन्।
यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुन: मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे।
कांग्रेसका उम्मेदवार कासुलाले ३ हजार ४०७ मत मात्रै ल्याए। यस्तै, नेकपा एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्य राम त्वायनाले २ हजार ३९९ मत ल्याए।
उपप्रमुखमा पनि नेमकिपाकै रजनी जोशी २९ हजार ७५९ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत ल्याइन्।
१० वटा वडा रहेको भक्तपुर नगरपालिकाका सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा श्याम कृष्ण खत्री, २ को वडाध्यक्षमा हरि प्रसाद बासुकला, ३ को वडाध्यक्षमा राजकृष्ण गोरा, ४ को वडाध्यक्षमा उपेन्द्र सुवाल निर्वाचित भएका छन्।
यस्तै, वडा नं ५ को वडाध्यक्षमा योगेन्द्र मान बिजुक्छें, ६ को वडाध्यक्षमा हरिराम सुवाल, ७ को वडाध्यक्षमा उकेश कवां, ८ को वडाध्यक्षमा कृष्ण प्रसाद कोजू, ९ को वडाध्यक्षमा रवीन्द्र ज्याख्व र १० को वडाध्यक्षमा लक्ष्मीप्रसाद हयौमिखा निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।