काठमाडौं- देशभरका सबै ६ महानगरपालिकामा मेयरमा अग्रता लिन नसकेको नेकपा एमालेले उपमेयरमा भने तीन वटामा अग्रता लिएको छ। एमालेले चार महानगरमा मात्र उपमेयरमा उम्मेदवारी दिएको छ।
उम्मेदवारी दिएकामध्ये एमालेका उपमेयर उम्मेदवार काठमाडौं, ललितपुर र विराटनगरमा अगाडि छन्। पोखरामा मात्र एमाले उम्मेदवार पछि परेकी छिन्। एमालेले भरतपुरमा राप्रपा र वीरगन्जमा लोसपालाई उपमेयर छाडेको छ।
एमालेका अग्रता लिएका उपमेयर सबै महिला हुन् भने उनीहरूका प्रमुख प्रतिश्पर्धी पुरुष हुन्। काठमाडौंमा एमालेकी सुनिता डंगोलले २८८४ मतसहित फराकिलो अग्रता बनाएकी छिन्। दोस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८२३ मत पाएका छन्।
ललितपुर महानगरपालिकामा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ५०९ मत पाएर अग्रता लिँदा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ३०० मत पाएका छन्। त्यसैगरी विराटनगरमा एमाले उपमेयर उम्मेदवार शिल्पा कार्कीले २७२६ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवले १६३२ मत पाएका छन्।
उता पोखरामा भने एमालेकी उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले ११६५ मत पाएकी छिन्। अग्रता लिइरहेकी कांग्रेसकी कोपिला रानाभाट १२४६ मत पाएकी छिन्। गठबन्धनबाट कांग्रेसले उपमेयर लिएको पोखरा महानगर मात्र हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।