काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीको संघीय निर्वाचन क्षेत्रमा पर्ने झापाका चार पालिकामा एमालेले उत्साहजनक मत प्राप्त गर्न सकेको छैन। चारमध्ये एक पालिकामा मात्र एमालेका प्रमुख पदका उम्मेदवारले अग्रता लिएका छन्।
ओलीको गृहनगर रहेको दमकमा एमालेकी मेयर पदकी उम्मेदवार गिता पौडेल अधिकारी गठबन्धन बनाएर उम्मेदवार भएका राप्रपाका राम थापासँग पछि परेकी छिन्। अधिकारीले २३३२ मत पाउँदा थापाले २४५० मतसहित अग्रता लिएका छन्।
दमकको उपमेयरमा पनि गठबन्धनतर्फ रुखका उम्मेदवार रेगिना भट्टराईले २३९२ मतसहित अग्रता हासिल गरेकी छिन्। एमालेका अम्बिका खनालले २१९० मत पाएका छन्।
एमालेले गौरादह नगरपालिकामा मात्र अग्रता लिएको छ। गौरादहमा एमालेका मेयरका उम्मेदवार छत्रपति सुवेदीले १३९३ मत पाउँदा कांग्रेसका रोहितकुमार शाहले ९९० मत पाएका छन्। उपमेयरमा एमालेकी जलवर्षा राजवंशीले ११९० मत पाउँदा माओवादी केन्द्रकी पुष्पलाल ढकालले ८५९ मत पाएको छ। यहाँ कांग्रेस, माओवादी र एसको गठबन्धन छ।
उता कमल गाउँपालिकामा कांग्रेसका हुकुमसिंह राईले ३६६५ मत पाउँदा एमालेका भीमप्रसाद राईले २२१५ मतसहित पछ्याइरहेका छन्। यहाँ उपमेयरमा माओवादीले अग्रता लिँदा एमाले दोस्रो स्थानमा छ।
गौरीगन्ज गाउँपालिकामा कांग्रेसकी फूलवती राजवंशीले ४७० मत पाउँदा एमालेका विजयकुमार अग्रवालले ४२० मत पाएका छन्। उपमेयरमा भने एमालेले अग्रता लिएको छ। एमालेकी पुजन न्यौपाने कुँवरले ५५० मत पाउँदा माओवादी केन्द्रका विद्यानन्दसिंह राजवंशीले ४५१ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।