काठमाडौं- निर्वाचन आयोगले मतगणना ढिलाइ भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले सामान्य मनवीय त्रुटिलाई आधार बनाई मतगणना कार्य प्रभावित गरेकोमा सम्बधित पक्षसँग आयोगले असन्तुष्टि व्यक्त गरेको हो।
‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिबाट सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नारावाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाइ गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ।
यस्तो गतिविधिबाट आयोगको पूर्वयोजना अनुसार जेठ ५ गते अगाडि मतगणना सक्ने उद्देश्यमा गम्भीर असर परेको आयोगले जनाएको छ।
त्यस्तै, आयोगले मतगणना निर्देशिकाको व्यवस्था तथा आयोगको निर्णयअनुसार जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरी मतगणनामा खटाउन सरोकारवालाहरूसँग आयोगले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।