काठमाडौं– निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीका तीन स्थानीय तहमा अग्रता लिएको छ। सो पार्टीले कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा अग्रता लिएको छ।
यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले पछि पारेका छन्। टीकापुर नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु डगौराले १७४५ मत ल्याएर अग्रस्थानमा छन्। नेपाली कांग्रेसका नवराज रावलले ९८३ र नेकपा एमालेका श्याम खत्रीले ७८५ मत पाएका छन्।
उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विकले १३६१ मत ल्याएर अग्रता कायम राखेकी छन् भने उनलाई पछ्याइरहेका माओवादी केन्द्रका खडक शाहले १२१० र एमालेकी उपमा केसी ६४८मत ल्याएकी छन्।
भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरीले ८१२ मत पाएका छन्। दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार हर्कबहादुर बुढाले ८०२ र माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीले ७२० मत पाएका छन्।
उपमेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजु तिरुवाले ६९६ मत पाएका छन् भने एमाले उम्मेदवार तुलसी चौधरीले ८४१ र नेपाली कांग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीले ५४७ मत पाएका छन्। भजनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको थियो।
जोशीपुर गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। त्यहाँ अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरी ६४९ र उपाध्यक्षमा रेखादेवी कठरियाले ६६७ मत पाएका छन्।
अध्यक्षमा पदमा दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार भीमबहादुर वमले ६२४ र उपाध्यक्षमा कांग्रेस उम्मेदवार किरण चौधरीले ४८४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।