कैलाली- सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ।
फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन्। सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा कांग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो।
तर, शान्ति पूर्णरुपमा मतदान भएका १, ६, ७ र १० मा पनि फेरि चुनाव हुने भएपछि स्थानीयबासीले विरोध जनाएका छन्।
बाजुरको बुढीनन्दा‐८ को पालिका पिस क्रियटर एकेडेमीमा पनि फेरि चुनाव हुने भएको छ। सो केन्द्रमा केही मत खसेपछि विवादका कारण मतदान स्थगित भएको थियो। तर, चुनावको नयाँ मिति तोकिएको छैन।
बझाङको जयपृथ्वी नगरपालिका सुनिपिपल चौर माविका दुई केन्द्रमा आज मतदान हुँदैछ। यस्तै बझाङकै सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र आधाबगर माविका दुई केन्द्रमा जेठ २ मा मतदान हुने भएको छ। बझाङकै केदारस्यूँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्रमा पनि जेठ २ मा नै मतदान हुने भएको छ।
कञ्चनपुरको पुनर्बास नगरपालिकाको विजय मावि, भीम विकास बस्तीको एक केन्द्र, अछामको साँफेबगर नगरपालिका राष्ट्रिय मावि, बावला दुई र अछामकै पञ्चदेवलविनायक नगरपालिका नवज्योति माविका दुई केन्द्रमा पनि फेरि चुनाव हुँदैछ। तर, यी केन्द्रमा फेरि हुने चुनावका लागि मिति तोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।