काठमाडौं– शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत गणना आज (शनिबार) हुँदै छ। देशका ६ वटा महानगरमा शनिबार बिहानबाट मत गणना सुरु गरिने सम्बन्धित पालिकाको सर्वदलीय बैठकबाट निर्णय गरिएको छ।
काठमाडौं महानगरपालिकामा मध्यरातमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले मतगणनाको काम शनिबार बिहान ८ बजेबाट सुरु गर्ने निर्णय गरेको छ। महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाकाअनुसार शुक्रबार मध्यरातसम्म मतपत्र जम्मा गर्ने काम भएको र शनिबार बिहानबाट मतगणनाको काम सुरु हुनेछ। काठमाडौंको मतगणना स्थल भने प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह रहेको छ।
ललितपुर महानगरपालिकामा भने शनिबार बिहान ८ बजेबाट मतगणना सुरु हुँदै छ। शुक्रबारको बैठककाअनुसार शनिबार ७ बजे सर्वदलीय/सर्वपक्षीय बैठक सुरु गरेर ८ बजे मतगणना सुरु गरिँदै छ। मुख्य निर्वाचन अधिकृत करिणप्रसाद शिवाकोटीकाअनुसार महानगरमा कुल १ लाख २२ हजार ८९० मतदाता रहेकामा ८६ हजार ५८० मत खसेको छ।
चितवनको भरतपुरमा महानगरपालिकामा शनिबार बिहान ९ बजेबाट मतगणना हुने भएको छ। शुक्रबार साँझ मतगणना सुरुगर्न बसेको पनि सर्वदलीय/सर्वपक्षिय बैठकमा सहमति जुटाउन नसक्दा शुक्रबार राती मतगणना हुन सकेको थिएन।
कास्कीको पोखरा महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना हुने भनिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाकारी दिएअनुसार शनिबार बिहान सर्वदलीय/सर्वपक्षीय बैठक बसेर मतगणनाको समय तोकिने छ। सर्वदलीय/सर्वपक्षीय बैठकका लागि बिहान ७ बजेको समय तय गरिएको छ। पोखरामा मतपेटिकाहरुलाई उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको हलमा राखेर गणना गर्ने तयारी रहेको छ।
प्रदेश १ को मोरङस्थित विराटनगर महानगरपालिकामा पनि शनिबार बिहानैबाट मतगणना सुरु हुँदै छ। शुक्रबार मतदानपछिको सर्वदलीय/सर्वपक्षीय बैठकले शनिबार बिहान मतगणनाको काम सुरु गर्ने निर्णय गरेको थियो।
विराटनगर महानगरको मतगणना आदर्श माध्यमिक विद्यालयमा गरिने बताइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार विराटनगरमा ६७.३५ प्रतिशत मतदान भएको छ।
त्यस्तै, वीरगञ्जमा पनि शनिबार बिहान नै मतगणना हुँदै छ। बिहान मतगणना हुने समय भने तोकिएको छैन। मत गणनाका लागि वीरगञ्जमा वीरगञ्ज १४ को पिपरास्थित नृसिंह माविको मवनलाई तोकिएको छ। वीरगञ्जमा करिब ७० प्रतिशत मत खसेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।