काठमाडौं– गोरखाको भिमसेन थापा गाउँपालिका–२ ताराखसेस्थित मतदान केन्द्रमा प्रहरीको गोली लागेर १ जना घाइते भएका छन्।
कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएका बेला गोली चलेको थियो। गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी मनिषा थापा घाइते भएकी छन्। उनको खुट्टामा गोली लागेको छ।
गोली प्रहरीबाट चलेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले भिड नियन्त्रण गर्न बन्दुक लोड गर्ने क्रममा पड्किएको बताएका छन्।
एसएलआर राइफलमा गोली लोड गरेर हवाई फायरका लागि उठाउँदै गर्दा गोली चलेको एसपी खनालको भनाइ छ।
'हवाई फायर नगरी स्थिति नियन्त्रणमा लिन नसकिने देखिएपछि बन्दुक लोड गरेर हवाई फायर गर्न खोज्दा मिसफायर भयो,' एसपी खनालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।