काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई स्पष्टीकरण सोध्ने काम भइसकेको बताएका छन्। शुक्रबार दिउँसो दिएको प्रतिक्रियामा थपलियाले भट्टराईबाट आउने दलिलअनुसार अघि बढ्ने बताए।
'उहाँले गरेको होइन भन्नेमा म विश्वस्त छु। मेरो एउटा विश्वास हो। यदि हाम्रो विश्वासमा आँच आउने गरी गरेकै दलिल पेस गर्नुभयो भने कानुनले जे भन्छ त्यही गर्ने हो। मेरो बुझाइमा संविधान र कानुनभन्दा माथि कोही पनि छैन। हुनु हुँदैन। हामीले संस्कार र प्रणाली बसाल्ने हो। उहाँबाट त्यही अपेक्षा गरेका छौँ। उहाँलाई पनि सोध्ने काम भइसकेको छ। तदनुसार अगाडि बढ्छ', उनले भने।
डा भट्टराईले शुक्रबार मतदानपछि सामाजिक सञ्जालमा केही फोटोहरु सार्वजनिक गरेका थिए। जसमा उनले मतपत्रमा छाप लगाएको फोटो पनि छ। उनले कानुन र आचारसंहिता उल्लंघन गरेको भन्दै आलोचना भएको थियो। त्यसपछि भट्टराईले आफ्नो बचाउ गरेका थिए।
'लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन। गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर, कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!', उनले लेखेका छन्।
भट्टराईको तर्कप्रति थपलियाले आश्चर्य व्यक्त गरे। 'मतदान गर्ने ठाउँमा दुई–दुई जना जाने, एउटाले मत हाल्ने, अर्कोले फोटो खिच्ने, लगत्तै सार्वजनिक गर्ने। र, कानुन विपरीत गरेको कुरालाई पनि कुनै सिद्धान्त वा विचार वा किताबमा पढेको विषयलाई यो ठीक भयो भन्ने कुरामा आयोग चिन्तित छ', उनले भने।
उनले भट्टराईको व्यवहारप्रति विश्वास नै नलागेको बताए। 'मैले उहाँलाई आस्थाकै व्यक्तित्व नै मान्छु। सम्मान पनि गर्दछु। जुन विवरणहरु बाहिर आए, सामाजिक सञ्जालबाट देख्न पायौँ। म आश्चर्यचकित भएँ। निर्वाचन आयोगले उहाँहरुले बनाइदिएको कानुन मान्ने हो', उनले भने।
भट्टराईलाई आयोगले सोधेको स्पष्टीकरणमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसुरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट सजाफ पेश गर्न भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।