काठमाडौं– सप्तरीको डाक्नेश्वरी नगरपालिका– २ स्थित हिररबा माविको मतदानस्थलमा स्थगित भएको मतदान जेठ १ गते हुने भएको छ।
मतदान अधिकृतमाथि कुटपिट हुँदा मतदान रोकिएकोमा पुन: सुरु हुने अवस्था नभएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको थियो। मुख्य निर्वाचन अधिकृतसहितका अधिकारीको छलफलबाट जेठ १ गते मतदान गर्ने निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मतदान अधिकृतलाई एक महिलाले मत हाल्न दिएको, तर मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो।
लगत्तै एक समुहले महिलाले भनेको ठाउँमा किन नहालेको भन्दै मतदान अधिकृतमाथि कुटपिट गरेको थियो। मतदान अधिकृतमाथि कुटपिट भएपछि अहिले मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए।
'मतदान पुन: सुरु गर्न सकिने अवस्था नभएपछि स्थगित गरिएको छ। अब अर्को दिन मतदान हुनेछ,' प्रजिअ गौतमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।