काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदार बालेन शाहले मतदान गरेका छन्। साहले ज्योतिषीबाट साइत हेराएर बिहान ११:०३ बजे मतदान गरेका हुन्।
काठमाडौं– ९ गैरीगाउँमा रहेको अन्नपूर्ण स्कूलको मतदान केन्द्रबाट मतदान गरेका साहले यसपटक मतदान गर्दा फरक अनुभव भएको पनि बताए। भोट खसाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफ्नो जित निश्चित रहेको दाबी समेत गरे।
उनले यसअघि एकपटक मात्रै मतदान गरेको अनुभव रहेको बताए। यसपालीको मतदानमा धेरै फरक अनुभव संगालेको उनको भनाइ छ।
बालेनले आफू ज्योतिषशास्त्रमा विश्वास राख्ने भएकाले साइत हेरेर मतदान गरेको स्वीकार गरे । उनले भने, ‘ज्योतिषशास्त्र पनि विज्ञान हो । म यसमा विश्वास गर्छु । म इन्जिनियरसँगै एस्ट्रोलोजीको पनि विद्यार्थी भएकाले साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट हालेको हुँ ।’
उनले पार्टी नहेरी उम्मेदवार हेरेर भोट खसाएको जानकारी दिए। ‘सबै उम्मेदवारहरु हेरेर फरक–फरक चिह्नमा मत खसाएकाले अलिकति टाइम लाग्यो,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।