काठमाडौं– स्थानीय तह चुनावका लागि देशभर मतदान जारी छ। केही स्थानमा मतदानका क्रममा झडप र विवादका घटना भए पनि अन्य ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केही स्थानमा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए। उनका अनुसार मतदान सुरु भएको ४ घण्टासम्म देशभरबाट प्राप्त भएको विवरण अनुसार ३० प्रतिशतको हाराहारीमा मतदान भएको छ। ‘केही स्थानमा बाहेक अन्य क्षेत्रमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ,’उनले भने।
उनका अनुसार कुल मतदाताको ७० देखि ७५ प्रतिशतको हाराहारीमा मत खस्ने छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ।
मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताले ५ बजेपछि पनि मतदान गर्न पाउने छन्। यसपटकको स्थानीय तहको निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन्।
देशभरका ७ सय ५२ स्थानीय तहमा मतदान भइरहेको छ। एक स्थानीय तहमा उपमेयरका उम्मेदवारको मृत्यु भएकाले त्यहाँ नयाँ निर्वाचन कार्यक्रम अनुसार जेठ ३ गते निर्वाचन हुनेछ।
आयोगले मतदान सकिएर सुरक्षित रुपमा मतपेटिका मतगणनास्थलसम्म पुर्याइसकेपछि आजै राति देखि मतगणना सुरु गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।