काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भइ मतदान गर्न आह्वान गरेकी छन्।
शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा बिहीबार राष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै निर्धक्क भएर मतदान गर्न मतदाताहरुलाई आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको पनि बताएकी छन्।
निर्वाचनलाई समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्याउने विशेष अवसरका रूपमा ग्रहण गर्नुपर्ने बताउँदै उनले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु भएको बताएकी छन्।
उनले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने सन्देशमा उल्लेख गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।