काठमाडौं– सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ।
स्थानीय तह निर्वाचन सुरक्षाका लागि आज मंगलबार मध्यरातिदेखि मतदान हुने दिन (३० वैशाख) सम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो।
मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ। मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ।
सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनुमति बेगर सीमाबाट आउ–जाउ गर्न नदिन निर्देशन दिइएको बताए।
नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन्। भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न सँधै चुनौती हुने गरेको छ।
अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने बताइएको छ।
मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुडाउन पाइने गृह मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।