काठमाडौं– निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गरेको छ।
मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिए बमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत समक्ष निवेदन दिनु पर्नेछ। यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी सोही निवेदनमा सिफारिस गर्नुपर्ने उल्लेख छ।
उम्मेदवार बाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुसूची २ बमोजिम सिफारिस दिने अधिकारीको सिफारिस लिई अनुसूची बमोजिम सवारी साधनको अनुमतिपत्र जारी गर्ने निकाय वा अधिकारी समक्ष पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार सवारी साधनका लागि अनुमति लिन वैशाख २८ गतेसम्म निवेदन दिइसक्नु पर्नेछ । उक्त मापदण्डको विस्तृत विवरण आयोगको वेबसाइटमा उल्लेख गरिएको छ।
आयोगले निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई लेखी पठाइसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।