काठमाडौं– सुर्खेतमा चुनावी प्रयोजनमा रहेका सवारीसाधनमाथि आगजनी भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रयोग गरेका सवारीसाधनमा अज्ञात व्यक्तिले आगनी गरेका हुन्।
नेकपा माओवादी केन्द्रले चुनावी प्रचारमा प्रयोग गरेको बा १४ च ६८३१ नम्बरको स्कर्पिओ गाडी र नेकपा एमालेले प्रयोग गरेको प्रदेश ०२–००१ख ००६१ नम्बरको मिनीबसमा आगो लगाइएको हो।
वीरेन्द्रनगरस्थित होटल सत्कारमा पार्किङ गरेर राखिएको बा १४ च ६८३१ नम्बरको स्कर्पिओमा शुक्रबार राति १२:३० बजेतिर आगगनी भएको प्रहरीले जानकारी दिएको छ।
यस्तै, एमालेले चुनावी प्रचारमा प्रयोग गरेको बसमा राति २ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयले गाडीमा लागेको आगो निभाएका थिए। प्रत्यक्षदर्शी स्थानीयले राति पेट्रोल छर्केर गाडीमा आगो लगाइएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले गाडीमा आगजनी गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी विष्टको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।