काठमाडौं– ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मिलनकुमार विष्टविरुद्ध दुई वटा पक्राउ पूर्जी जारी भएको छ।
नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका विष्टविरुद्ध जिल्ला अदालत भक्तपुरबाट बैंकिङ कसुर र कीर्तेमा र जिल्ला अदालत काठमाडौंबाट फरक नाममा दोहोरो नागरिकता लिएको विषयमा पक्राउ पूर्जी जारी भएको हो।
वैशाख १५ गते भक्तपुर अदालतबाट र जिल्ला अदालत काठमाडौंबाट वैशाख २१ गते पक्राउ पूर्जी जारी भएको हो।
भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको छ।
पूर्जीमा उनलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध दोहोरो नागरिकता लिएको उजुरी परेपछि अर्को पक्राउ पूर्जी जारी भएको हो। उनले ओखलढुंगाबाट पहिलोपटक २०४७ असोज २९ गते १८३५/४५४ नम्बरको होमबहादुर बिष्टको नाममा र काठमाडौंबाट समेत २०५१ वैशाख २१ गते मिलनकुमार विष्टको नामबाट नागरिकता लिएको भन्दै उजुरी परेको थियो।
उक्त विषयमा समेत पक्राउ परेर अनुसन्धान गर्नुपर्ने भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी पाउँ भन्दै अदालतलाई पत्र पठाएको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।
पक्राउ पूर्जी जारी भएसँगै परिसर काठमाडौंले विष्टलाई खोजबिन गरी पठाउने भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई समेत पत्राचार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।