कञ्चनपुर- कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन्।
भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थीमाथि माओवादीले कुटपिट गरेको एमाले कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए। उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्याली निकालेको थियो।
उक्त र्यालीमा पुगेको भन्दै एमाले कार्यकर्तामाथि माओवादीले कुटपिट गरेको आरोप लागेको छ। माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समूहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको एमालेका जिल्ला उपसचिव कर्णबहादुर चन्दले बताए।
‘कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै निवदेन दिएका छौं, घाइतेहरुलाई महाकाली अस्पतालमा भर्ना गरेका छौं,’ उनले भने।
बागफाँटा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र पुजराले एमाले र माओवादी कार्यकर्ताबीच सामान्य विवाद भएको बताए।
‘आज बागफाँटामा माओवादीको र्याली थियो, त्यो र्यालीमा एमालेका कार्यकर्ता पुगेछन्,’ उनले भने, ‘हाम्रो र्यालीमा किन आएको भनेपछि विवाद भएको रहेछ।’ घटनाको विषयमा दुबै पक्षबाट उजुरी आएको भन्दै उनले बोलाएर छलफल गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।