काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र विश्व बैंक नेपालका म्यानेजर फ्यारिस एच हाडाड जेरवोसबीच श्रम मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा हुनसक्ने साझेदारीका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री विष्टले युवाहरुलाई दक्ष र सीपयुक्त बनाई वैदेशिक रोजगारीमा पठाउन प्राविधिक तालिम केन्द्रको सुदृढीकरण गर्न आफ्नो मन्त्रालयले पछिल्लो समय गरिरहेका कामबारे जानकारी गराएका थिए।
मन्त्री विष्टले रोजगारी सिर्जनाका लागि मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरणमा सुधार गरी वैदेशिक लगानी अभिवृद्धि तथा उद्यमशीलता विकासतर्फ सरकारको ध्यान केन्द्रित रहेको पनि बताए। उनले युवालाई स्वदेशमै काम गर्न प्रोत्साहित गर्न भर्खरै श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको र न्यूनतम रोजगारी ग्यारेन्टीका लागि रोजगार ऐन ल्याउन लागिएको जानकारी दिए।
विश्व बैंकका म्यानेजर जेरवोसले नेपाल सरकारले हालै ल्याएको श्रम सम्बन्धी नीति तथा कार्यक्रम संघ, प्रदेश र स्थानीय तहका सरकारका साथै सहकारी, निजी क्षेत्र र विकास साझेदार समेतको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्न विश्व बैंकको सहयोग निरन्तर रहने बताएको मन्त्रालयका श्रम प्रवक्ता प्रकाश दाहालले जानकारी दिए।
यस्तै, जेरवोसले रोजगार सूचना केन्द्रको स्थापनाका लागि र श्रमिकको सीप विकासका लागि तालिम केन्द्रको सुदृढीकरणका लागि पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।