काठमाडौं- वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रमुख राजनीतिक दलहरुका साथै स्वतन्त्र उम्मेदवारको चर्चा चलिरहेको छ।
नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत यति बेला चर्चामा छन्। गोकर्णेश्वर वडा नम्बर ४ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका महतले नेपाली कांग्रेस र नेकपा एमाले समेतको भोट प्रभावित पार्न सक्ने भएसँगै दलहरुसमेत सशंकित देखिएका हुन्।
२०७४ सालमा नेपाली कांग्रेसबाट बडा सदस्य जितेका महत यस पटक वडाअध्यक्षका आकांक्षी थिए। तर पार्टीले टिकट नदिएपछि कांग्रेसको सबै पदबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
बागमती प्रदेश काठमाडौं ३ ख का सचिव रहेका उनले उक्त पदबाट राजीनामा दिइ वडा नम्बर ४ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनले गत स्थानीय चुनावमा लोकप्रिय मत ल्याएको र वडामा भिजेको उम्मेदवार भएका कारण सवै राजनीतिक दलहरुलाई प्रभाववित पार्न सक्ने एमालेका एक नेताले बताए।
चुनावी प्रचार प्रचारलाई तिव्रता दिएका महतले आफू वडालाई नगरपलिकाको उत्कृष्ट वडा बनाउने योजनासहित चुनावी मैदानमा होमिएको बताए।
‘मैले हिजो पनि दल भन्दा माथि उठेर काम गरेँ भोलि पनि दल भन्दा माथि उठेर काम गर्ने छु’ उनले भने ‘अब म कुनै दलको होइन जनताको हो। जनताको काम गर्छु।’
स्थानीय चुनावमा जनताले पार्टी नभै कामको आधारमा मूल्याङ्कन गर्ने हुनाले आफूले गरेको कामको आधारमा जित हात पार्ने उनको दाबी छ।
महत स्थानीय तहमा लोकप्रिय रहेको नेपाली कांग्रेसका नेताहरुले पनि स्वीकार गरेका छन्। उक्त बडामा नेपाली कांग्रेसका तर्फवाट ज्ञान कुमार श्रेष्ठ र नेकपा एमालेका तर्फबाट श्री कुमार श्रेष्ठ चुनावी मैदानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।