प्रतीकात्मक तस्बिर
काठमाडौं– पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
झडपका क्रममा ३ जना घाइते भएको जानकारी आएको नवलपुर प्रहरीका प्रवक्ता डीएसपी सन्तोष पाठकले जानकारी दिए। ‘३ जना घाइते भएको जानकारी आएको छ। दुवै पक्षले एक अर्कालाई आरोप लगाएको अवस्था छ,’ डीएसपी पाठकले भने, ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं।’
प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। गाउँपालिकाको वडा नम्बर १ मा झडप भएको हो। चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ।
उनी २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्। अहिले पनि उम्मेदवार रहेकी छन्।
एमालेबाट चेतबहादुर राना उम्मेदवार छन्। झडप के कति कारणले भयो भन्नेबारे केही खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।