काठमाडौं– निर्वाचन आयोगले यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा पनि निश्चित मापदण्ड तोकेको छ।
सामाजिक सञ्जालबाट निर्वाचनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नियमित अनुगमन गर्नुका साथै सबैलाई आयोगले सचेत गराउँदै आइरहेको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो रहेको र त्यसले निर्वाचनमा कुनै असर नपुर्योस भनेर आयोग सचेत रहेको छ।
आयोगले निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुलाई यसरी प्रस्तुत गरेको छ।
शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौं, सूचनाको विश्वसनीयता जाँच गरौं, निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगरौं, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिने जस्ता कार्य नगरौं, कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट नगरौं, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौं
आयोगले सामाजिक सञ्जालको अनुगमन गर्दै दलका नेता देखि उम्मेदवारका गतिविधिलाई पनि नियाली रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।