काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। सिन्धुली, रामेछाप र दोलखामा आज ढुवानी गर्न लागिएको छ भने अन्य जिल्लामा यसै साता पठाउने तयारी भएको छ।
बैशाख १७ गतेसम्म ४९ जिल्लाका लागि ९१ लख ११ हजार मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ। बैशाख १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइसकिएको छ। बाँकी रहेका जिल्लामा मधेस प्रदेशका आठ जिल्ला, प्रदेश नम्बर १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं र भक्तपुरमा मतपत्र पठाउन बाँकी रहेको छ।
कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नम्बर १ का मोरङबाहेक सबै जिल्ला र गण्डकी प्रदेशको पोखरा महानगर बाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ।
मनाङ र मुस्ताङ जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ। निर्वाचन आयोगले यही बैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो। यसअघि ६ वटा महानगर र भक्तपुर जिल्ला बाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकामा आइतबार भक्तपुर जिल्लाको मतपत्र छपाइको काम सुरु भएको छ। महानगर र भक्तपुरका लागि छापिने मतपत्र उम्मेदवारी मनोनयनपत्र दर्ताको अन्तिम नामावलीका आधारमा पूर्ववत डिजाइनमा निर्वाचन चिह्न थपघट गरेर छपाइ हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।