काठमाडौं– निषेधित क्षेत्र तोडेर धर्नामा सहभागि भएकाे भन्दै मानव अधिकारकर्मी कृष्ण पहाडीसहित एक दर्जन बढी मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्वतन्त्रताको रक्षा गर्न सरकारसँग अपिल गर्दै मंगलबार सिंहदरबार अगाडि धर्नामा बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सरकारले काठमाडौंका विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि त्यसको विरोधमा दैनिक प्रदर्शन गर्दै आएका मानव अधिकारकर्मीहरुले मंगलबार एक घण्टा सिंहदरबार अघि धर्ना दिएका हुन्।
सरकार स्वेच्छाचारी बन्दै गएपछि त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको मानव अधिकारकर्मी कृष्ण पहाडीले बताए। उनले सत्याग्रह प्रतिकूल र हिंसाप्रति नरम हुने खालको सरकारको व्यवहार देखिएको भन्दै आपत्ति जनाए।
मानव अधिकारकर्मीहरुले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षा गर्न समेत सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।