काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारीसमेत फिर्ता भएसँगै निर्विरोध भएका हुन्।
हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन्। पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ।
निर्विरोध हुनेमा नेपाली कांग्रेसबाट तीन जना, कम्युनिष्ट पार्टी (एमाले)बाट एक जना र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट एक जना रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।