काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलदेखि गण्डकी प्रदेशमा सभामुख र नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासम्मलाई सचेत गराएको छ। स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनीहरुलाई निर्वाचन आयोगले सचेत गराउँदै अब उपरान्त त्यसो नगर्न निर्देशन दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता प्रतिकूल दलको झण्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गर्दा आचारसंहिता विपरित काम भएको ठहर आयोगले गरेको छ।
आयोगको निर्णयमा भनिएको छ, ‘सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा, २३ निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भए गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कामहरु नगर्न नगराउन निर्देशन दिई, सो दलले आचारसंहिता उल्लंघन हुने कार्य गरेकोले सचेत गराउने।’
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पनि आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ। सो दलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोष्टर तयार, गरी, प्रचार प्रसार गरिएको भन्ने कुरा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जानकारीमा आएपछि आयोगले छानबिन गरेको थियो। सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन(कसूर तथा सजाय)ऐन, २०७३ को दफा २२ विपरित भए गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन आयोगले निर्देशन दिँदै सचेत गराएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री जनार्दन शर्मासहित घिसिङको तस्बिर राखेर स्वमय् अध्यक्ष दाहालकै फेसबुक पेजमा राखिएको थियो। पछि त्यसको चर्को विरोध भएपछि शर्मा र घिसिङको तस्बिर हटाएर प्रचण्डको मात्रै राखिएको थियो।
त्यस्तै आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लंघन गरेको भन्दै सचेत गराएको छ। सो दलले गत चैत २७ गते मकवानपुरको हेटौंडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको थियो। सो कार्यक्रममा आचार संहिता विपरित झण्डा र बालबालिकाको प्रयोग भएको सञ्चारमाध्यममा खबर प्रकाशन भएको थियो।
आयोगले नेपाली कांग्रसका नेता शशांक कोइरालालाई पनि आचारसंहिता कार्यान्वनप्रति सजग गराएको छ। कानूनी प्रावधान बमोजिम निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने निर्वाचन खर्चको अधिकतम हद तोक्ने व्यवस्था बमोजिम आयोगले २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न सक्नेगरी निर्वाचन खर्चको हद तोकेको थियो। तर, नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित कांग्रेसका उम्मेदवार शशांक कोइरालाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्तको विवरणमा २१ लख ७५ हजार रुपियाँ आयोगमा रहेको अभिलेखबाट देखिएकोमा कोइरालाले उक्त निर्वाचनमा आफूले ६ करोड खर्च गरेको भनी दिएको अभिव्यक्ति विभिन्न सञ्चार माध्यममा तथा सामाजिक सञ्जालबाट संप्रषित भएको थियो।
जिम्मेदवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागू गरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौती दिने गरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय होइन,’ आयोगको आदेशमा भनिएको छ, ‘निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन।’
आचारसंहिताको मूल आधार माथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्बद्ध राजनीतिक दललाई जानकारी दिने आयोगले निर्णय गरेको छ।
सोही अनुसार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रतिसचेत गराएको छ। निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको विवरण गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट संप्रेषित भई आयोगलाई जानकारी हुन आएको आयोगले जनाएको छ।
‘आफू उम्मेदवार भई निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सामाजिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन,’ आयोगले भनेको छ, ‘निर्वाचन खर्चको अभिलेख अनुसारको निर्वाचन खर्चको रकम र हाल व्यक्त गर्नुभएको अभिव्यक्ति एक आपसमा फरक भएको देखिन्छ। अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त व्यहोराको जानकारी सम्बन्धित व्यक्तिलाई गराउने,’ आदेशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।