गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिकामा नेकपा माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच रेसुङ्गाको प्रमुख र उपप्रमुख पद बाँडफाँटको विषयमा विवाद थियो।
माओवादी केन्द्रबाट रेसुङ्गाको उपमेयरको उम्मेदवार दिएका अशोक थापाले पार्टीको निर्देशनानुसार उम्मेदवारी फिर्ता लिएको बताए।
नेकपा माओवादी केन्द्र गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का इञ्चार्ज समेत रहेका थापाले पार्टीको निर्देशनअनुसार उम्मेदवारी दिएको र पार्टीले नै फिर्ता लिन भनेपछि ब्याक भएको बताए।
रेसुङ्गा नगरपालिकाको वडा नम्बर ६, वडा नम्बर १२ र वडा नम्बर १४ मा नेकपा माओवादी केन्द्रका उमेदवार रहेको थापाले बताए। उनले नगरपालिका प्रमुख र उपप्रमुखमा सक्षम, अब्बल र योग्य उमेदवार रोज्न पार्टीका कार्यकर्ता र आम समुदायलाई आग्रह गरे।
रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भागबन्डा नमिलेकोले गठबन्धन नभएको थापाको भनाइ छ।
छत्रकोट गाउँपालिका पनि पूर्ण रुपमा नभइ आंशिक रुपमा गठबन्धन भएको थापाले बताए। गठबन्धन नहुनुमा उनले पार्टीको जिल्ला नेतृत्वको कमजोरी रहेको थापाको भनाइ छ।
गठबन्धनको नाममा नेपाली कांग्रेस गुल्मीले माओवादी केन्द्रलाई सिध्याउने खेल रचेको पनि थापाले आरोप लगाए। गठबन्धन गर्ने सम्बन्धमा केही समय अगाडिदेखि नै छलफल चलेपनि पार्टीको जिल्ला नेतृत्वले अडान लिन नसक्दा कांग्रेसले पेलेको उनको भनाइ छ।
गुल्मीका १२ स्थानिय तह मध्ये ४ स्थानिय तहमा गठबन्धन भएको छैन।
माओवादी केन्द्रले रेसुङ्गा नगरपालिकाको वडा नम्बर ६ मा गोपाल मरासीनी, वडा नम्बर १२ मा गिरी प्रसाद महाहाकिम र १४ मा शेर बहादुर मल्ललाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।
रेसुङ्गामा नेकपा एमालेले इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेयलाई मेयर र रीता पाण्डेयलाई उपमेयर उठाएको छ।
नेपाली कांग्रेसले जिल्ला सभापति खिलध्वज पन्थीलाई मेयर र अमृतादेवी कुवँरलाई उपमेयरको उम्मेदवार बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।