पोखरा– नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार रहेका कृष्ण थापाले आफू अन्तिमपटक चुनाव लड्ने बताएका छन्। शनिबार पोखरामा घोषणापत्र सार्वजनिक गर्दै मेयरका उम्मेदवार थापाले अन्तिमपल्ट चुनाव लड्न लागेको बताएका हुन्।
पार्टीमा नयाँ पुस्ताका नेताहरु आइसकेकाले आफ्नो मेयरको उम्मेदवारी अन्तिम हुने उनको भनाइ छ। 'अर्को पुस्ता पनि पार्टीले तयार पारिसकेको अवस्था छ। म आज आदरणीय नेतालाई साक्षी राखेर अर्कोपटक चुनाव नलड्ने घोषणा गर्दछु,’ उनले भने।
पोखरा सभागृहमा उम्मेदवार परिचय तथा बृहत् कार्यकर्ता भेला आयोजना गरिएको थियो।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याललगायतका नेताहरुको उपस्थितिमा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो।
एमालेले पोखराका लागि ‘हाम्रो अभिभारा: स्वच्छ सुन्दर पोखरा’ नारा अघि सारेको छ। घोषणापत्रमा पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहरको रुपमा विकास गर्ने दाबी गरिएको छ।
मेयरका उम्मेदवार थापाले २० देखि २५ हजार मतान्तरले चुनाव जित्ने दाबी गरे। आफू मेयर निर्वाचित भएपछि प्राप्त हुने सेवासुविधा गरिब जनताको सेवामा खर्च गर्ने पनि उनले घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।