काठमाडौं– पोखरा महानगरपालिकाको मेयरका लागि ‘अटेरी अभियान’का तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलको चुनाव चिह्न ‘लौरो’ खोसिएपछि निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको छ।
शनिबार निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरिसकेको चुनाव चिह्न खोसेपछि ‘अटेरी अभियान’का कार्यकर्ताहरुले पोखरास्थित निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेका हुन्।
अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएका पौडेललाई शनिबार निर्वाचन अधिकृतको कार्यालयले 'लौरो' चुनाव चिह्न प्रदान गरेको थियो। तर, केही घण्टापछि नै पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले फोनमार्फत् उक्त चुनाव चिह्न दिन नमिल्ने भन्दै खोसेको थियो। आफूले चुनाव चिह्न लिएर प्रचार गरिसकेपछि निर्वाचन अधिकृतको कार्यालयले खोसेको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका छन्।
आयोगसँगको छलफलबाटै सो चिह्न लिएको उनी बताउँछन्। ‘हामी बिहान साढे १० बजेतिर निर्वाचन आयोग पुगेर, छलफल गरेर, सकभर एउटै चिह्न लिने भनेर लौरो रोज्यौं। हामीले पनि त्यही अनुसार फर्म बुझायौं। उनीहरुले पनि त्यही चिह्न दिए। त्यहाँबाट हामी निस्कियौं,’ पौडेलले भने, ‘केहीबेर अघि (पौने ४ बजेतिर) यहाँको निर्वाचन अधिकृतले फोन गरेर तपाईंहरुलाई लौरो चिह्न दिन मिल्दैन, अर्को चिह्न लिन आउनुस् भन्नुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।